काठमाडौ । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनको प्रचार अभियान अहिले तीव्र छ । राजनीतिक दल र उम्मेदवारहरू आफ्नो चुनावी अभियानमा व्यस्त छन् ।
देशको राजधानी भएकोले कीर्तिपुर नगरपालिका प्रमुख लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हुन लागेको उपनिर्वाचनलाई निक्कै महत्वका साथ हेरिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदै छ । देशको मुटु भएको कारण काठमाडौं–१६ को उपनिर्वाचनलाई निक्कै महत्वका साथ हेरिँदै छ ।
२०८० साल भदौमा तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधर, नेपाली कांग्रेसका देवेन्द्र पाठकलगायत १८ उम्मेदवार मैदानमा छन् ।
भूगोल र जनसङ्ख्याका हिसाबले महानगरकै ठुलो वडा मानिने १६ नम्बर वडामा यो उपनिर्वाचनमा कसले बाजी मार्ला भन्ने कुरालाई चासोका साथ हेरिएको छ ।
यसै सन्दर्भमा एमालेका प्रत्याशी लक्ष्मीरत्न तुलाधर चुनाव आफूले जित्ने दाबी गर्छन् । उनी भन्छन् -“हामी नेकपा एमालेका नेता–कार्यकर्ताहरू राजनीतिमा मात्र नभई सदैव सामाजिक कार्यहरूमा जोडिँदै आएका छौँ, सक्रिय राजनीतिमा जोडिनुअघि म सामाजिक कार्यहरूमा संलग्न थिएँ, म आफ्नो इलाकाका सामाजिक संस्थाहरूमा सुरुदेखि नै संलग्न रहेर क्रियाशील रहेँ, आज पनि म विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध छु, त्यही कामलाई हेरेर मलाई मतदाताले मत खसाल्ने छन् र चुनाव जित्ने छु’, उनको दाबी छ ।
१० वर्षसम्म सामुदायिक प्रहरीको अध्यक्ष भएर सेवा गरेका तुलाधरले नेपाल रेडक्रस लगायतका विभिन्न संस्थामा पनि आबद्ध भएर समाजसेवाको काम गरेका छन् । आफूले काम गरेका क्षेत्रहरूमा आर्थिक पारदर्शिता कायम गरेको उनको दाबी छ । ‘सामाजिक काम गर्दा जनतालाई सहभागी गराएर आर्थिक सहयोग जुटाउने गर्थ्यौँ, त्यही कारण मैले नेतृत्व गरेका संस्थाहरूमा अहिलेसम्म कुनै आर्थिक समस्या देखिएको छैन, त्यस्ता संस्थाहरूका लागि आर्थिक व्यवस्थापन गर्ने कार्यमा म सदैव सफल रहँदै आएँ’, उनले भने ।
२०७२ सालको भूकम्प पछि र कोभिडको समयमा उनको १६ वडा मात्र होइन काठमाडौं जिल्लामा नै सामाजिक काममा निक्कै सक्रियता रहेको स्थानीय बताउछन् । ‘मैले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्लाको कोषाध्यक्षको भूमिका निर्वाह गरेँ, २०७२ साल वैशाखमा आएको महाभूकम्प र पछिल्लो समय कोभिड–१९ को महामारी र डेँगी सङ्क्रमणका कारण नागरिकले पीडा भागिरहेको बेला मैले सिङ्गो काठमाडौँ महानगरपालिकाभित्र सक्रिय रूपमा खटेर जनताको सेवा गरेँ , राजनीतिक रूपमा त छँदै छ, समाजसेवाको क्षेत्रमा समेत म सक्रिय रहेको हुँदा यस पटक काठमाडौँ– १६ का मतदाताहरूले मलाई जिताउने छन् भन्ने मलाई पूर्ण विश्वास छ’, उनले भने।
यस पटकको उपनिर्वाचनमा एमालेको पङ्क्ति एक ढिक्का रहेको र आफूले सामाजिक कार्यहरूमा सक्रिय सहभागिता देखाएको हुँदा चुनाव जित्न सकिन्छ भन्ने तुलाधरको विश्वास छ । ‘हामीले अहिलेसम्म जे जति कामहरू गर्यौँ, ती सबै जनताको बिचमा भिजेका कामहरू नै छन्, विगतदेखि अहिलेसम्म हामीले जनतालाई छुने खालका कामहरू गरेका छौँ, विकास, निर्माणसँग जोडिएका वडाभित्रका यावत् कामहरूमा हामी अग्रपङ्क्तिमा उभिएर क्रियाशील रहँदै आयौँ, खानेपानी, ढल व्यवस्थापन, सडक विस्तारलगायत कार्यहरूमा विभिन्न संस्थाहरूसँग समन्वय गरेर काम गरेका छौँ, मैले सामाजिक कार्यहरूमा जुन सक्रियता देखाउन पाएँ, त्यस कारण म धेरै नागरिकका बिचमा परिचित छु र यिनै कारणहरू म यस पटक निर्वाचन जित्नेमा ढुक्क छु’, तुलाधर भन्छन् ।
२०७० सालको स्थानीय तहको निर्वाचनमा पनि काठमाडौँ–१६ को वडाध्यक्षको प्रत्याशी बन्नुभएका तुलाधर त्यस बेला पराजित भएका थिए । आफूले त्यति बेला गरेको प्रतिबद्धता नै अहिलेको प्रतिबद्धता भएको उनले बताएका छन्। ‘म निर्वाचित भएपछि विगतमा हामीले जारी गरेका प्रतिविद्धताहरूकै आधारमा काम गर्नेछु’, उनले भने ।