काठमाडौ । आईसीसी यू-१९ महिला विश्वकप छनोटअन्तर्गत आज शनिवार नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्दै छन् ।
यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा नेपाली समयानुसार बिहान ११:१५ बजे सुरु हुने प्रतिस्पर्धामा नेपाल र यूएई दुवै टोली लगातार तेस्रो जितको खोजीमा हुनेछन्। जारी छनोट प्रतियोगितामा नेपाल र यूएई मात्र अपराजित छन्।
आजको खेलमा यूएईलाई हराए नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लनेछ। दुई/दुई खेलबाट ४ अंक भए पनि यूएई पहिलो र नेपाल दोस्रो स्थानमा छन्। समान अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको हो। समान दुई खेलमा हार भोगेका थाइल्यान्ड तेस्रो र कुवेत चौथो स्थानमा छन्।
पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराउँदै नेपाल जारी छनोटमा अपराजित छ।
यस्तै यूएई पनि पहिलो खेलमा कुवेतलाई १ सय ६ रनले तथा दोस्रो खेलमा थाइल्यान्डलाई ७४ रनले हराएर अपराजित छ।
चार टोली सहभागी छनोट प्रतियोगितामा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फर्म्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ विश्वकप खेल्न पाउनेछ।
यू-१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।
एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ।