बुटवल । अर्घाखाँचीमा बसको ब्रेक फेल भई तिहारको देउसीभैलो खेलिरहेको समुहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने सोही घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सीमानामा पर्ने जयठाँटीमा सोमवार बेलुका अन्दाजी ५ बजेतिर ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि देउसी भैलो खेलिरहेको ठाउँमा ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने अर्को एक जनाको सनाखत हुन बाँकी छ ।
बसको एक्कासि ब्रेक फेल भइ बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको र उपचारको क्रममा तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ । अन्य घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सीमाना जयठाँटीमा देउसीभैलोका १५/१६ समुह नाच्ने परम्परा रहेको बुझिएको छ ।