काठमाडौ । नियम विपरीत काम गरेको भन्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक(एनआईएमबी) र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ।
राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकाले कारबाही स्वरूप सचेत गराएको जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार उक्त बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
यस्तै, मितेरी डेभलपमेन्ट बैंकले ०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था पालना नगरेकाले कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ ।
उक्त संस्थालाई राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बुँदा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा बिस्तारमा रोक लगाउने तथा भूकम्प पीडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।