प्राधिकरणको कारबाही फुकुवा भएसंगै थाई एयर एशियाको भैरहवा र काठमाडौबाट उडान सुरू

Telecom

काठमाडौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट पनि उडान गर्ने शर्तमा कारबाही फुकुवा गरेसंगै आइतवारदेखि थाई एयर एसियाले एकसाथ भैरहवा र काठमाडौबाट पुनः उडान सुरु गरेको छ । अब उक्त एयरलाइन्सले नियमित रूपमा काठमाडौं गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ भने भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ।

थाई एयर एसियालाई काठमाडौं र भैरहवा दुबै गन्तव्यबाट उडान भर्ने शर्तसहित प्राधिकरणले उडान अनुमति फुकुवा गरेको बताएको छ । यदी भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वतः रद्द हुने अवस्थासहित उडान फुकुवा गरिएको प्राधिकरणले जनाएको छ। ‘एप्रुभल सेडुल’ अनुसार कम्पनीले काठमाडौं र भैरहवाकोसँगै उडान गर्नुपर्नेछ।

योसंगै थाई एयर एशिया मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने चौथो हवाईसेवा कम्पनी भएको छ। यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन गरेका थिए।

उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ। यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो। जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ।

यस्तै युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ। हप्ताको सातै दिन फ्लाई दुबईले दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडान विस्तार हुँदै गएको छ।

विमानस्थललाई पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन गर्न प्राधिकरण पनि लागिपरेको छ। सरकारको योजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा बढीभन्दा बढी व्यावसायिक उडान सञ्चालन गर्न प्रयास जारी छ।

“उडानहरु क्रमशः थपिँदै गएका छन्। गन्तव्यहरु बढिरेहका छन्। आगामी दिनमा यात्रुको माग र चाप अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान विस्तार गर्ने विश्वास लिएका छौँ”, प्रवक्ता पाण्डेले भने।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते बुद्धपूर्णिमाको दिन उद्घाटन गरिएको थियो। उक्त विमानस्थलमा नेपाल एयरलाइन्सको वाइड वडी ए ३३० विमानले परीक्षण उडान गरेको थियो। अघिल्लो वर्ष नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो।

प्राधिकरणले कात्तिक ११ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका बनाएको छ। नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

adb bank long