काठमाडौ । हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
त्यसैगरी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।