काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका ग्रहण गरेका छन्।
बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट प्रधानमन्त्री ओलीले भाइटीका लगाएका हुन् । उनले आइतबार बिहान ११ बजेर ३७ मिनेटको शुभ साइतमा विधिपूर्वक तिहारको टीका ग्रहण गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बहिनीहरूले ओलीलाई टीका लगाइदिएका हुन् । बहिनीहरूले टीका लगाइदिएपछि ओलीले पनि बहिनीहरूलाई टीका लगाइदिएका थिए ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा निकालेको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । भाइटिका लगाएसँगै पाँचदिनको यमपञ्चक सकिएको छ ।