काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्नेलाई मज्जाले भन्नुपर्ने बताएका छन् ।
बिहीबार सिस्नो पानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गल्ती गर्नेलाई भन्दा सच्चिन्छ भने सच्चिने नत्र सिद्धिने बताएका हुन् । ‘भन्न मज्जाले पाइन्छ, तर शिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौँ’, ओलीले भने ।
ओलीले बोल्दाखेरि भने सत्य र तथ्यमा आधारित भएर बोल्नु पर्ने बताएका छन् । सत्य बोल्ने, त्यसलाई अवलम्बन गर्ने र सत्यमा अडिने बानी बसाल्नु पर्नेमा ओलीले जोड दिएका छन् ।
उनले एमालेले पार्टी कार्यालय बनाउनको लागि जग्गा दान लिएको प्रति भएको आलोचनाको पनि प्रतिवाद गरेका छन् । ‘आफ्नै पैसाले किनेका कुन चाहिँ पार्टी अफिस छ ? मलाई देखाइदिनुस् न है, आफ्नै पैसाले चुनाव लडेका को को छन् ? मलाई बताइदिनुहोला, अब २० जनाले दान दियो कि एकजनाले दियो, त्यति फरक हो’, उनले भने ।
ओलीले सरकार प्रमुख भएको हैसियतले देशको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । सुखी नेपाली, समृद्ध नेपाल बनाएरै छाड्ने ओलीले बताएका छन् ।
पञ्चायतका विरुद्ध लड्न थाल्दा पनि मानिसहरूले आफूलाई पहरोको विरुद्ध कुहिनाको लडाइँ सुरु गरेको भन्दै खिसी गर्ने गरेका ओलीले सुनाए । ‘पहरोसँग कुइना किन ठोकाउँछौ ? राजतन्त्रसँग लड्ने तिमीहरू त कुहिना जस्ता हौ, पहरोमा कुहिना हान्यो भने तिमीहरूका कुहिना कच्याक कुचुक हुन्छन्, पहरो भत्कँदैन बाबु भनेका थिए, अलि समय जेल बसियो तर पहरा भत्काइयो, राजतन्त्र फालियो, तानासाही फालियो, अधिनायकवाद ढालियो’, उनले भने ।
ओलीले देश बनाउने कुरा एकैछिनमा हुने काम नभएको बताए। ‘बिस्तारै दूधको दूध पानीको पानी हुँदै जान्छ, म त कुनै हतारो गर्ने पक्षमा छैन’, ओलीले भने ।
कार्यक्रममा बोल्दै ओलीले विकास निर्माणको हिसाबले देश निक्कै अघि बढिसकेको बताए । आज देशका कुनै पनि ठाउँ दुर्गम नभएको अवस्थामा पुगेको ओलीले स्पष्ट पारेका छन् । ९८ प्रतिशत घर परिवारमा खानेपानी, विद्युत् लगायतका सेवा पुगेका उनले बताएका हुन् । त्यस्तै गाउँ गाउँमा बिजुली, सडक पुगेका ओलीले सुनाए।
काम गर्ने क्रममा केही गल्ती र कमजोरी भएका भए पनि विकास र काम भएका ओलीले बताएका छन् । गल्तीलाई सच्याउँदै अघि बढ्नु पर्ने उनको धारणा छ ।