काठमाडौ । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनलाई यमपञ्चक अर्थात् तिहार भनिन्छ । आज यमपञ्चकको दोस्रो दिन बिहान कुकुर तिहार र तिथि घटबढका कारण बेलुका लक्ष्मी पूजा गरिँदैछ।
आज कुकुरको पूजा गर्दै कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइन्छ ।आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । कुकुर घरपालुवा, आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ । कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।
त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ ।
कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
त्यसैगरी आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।
त्यसैगरी आज बेलुका नै लक्ष्मी पूजा समेत गरिँदैछ तिथि घटबढका कारण आज अपरान्ह १६:१३:०२ बजेबाट औँशी तिथि सुरू हुने र भोलि १८:३६:४५ बजे औँशी तिथि सकिने छ। लक्ष्मी पूजा औँशीका दिन बेलुका गर्ने प्रचलन भएकाले भोलि बेलुका औँशी तिथि सकिने हुँदा आज नै लक्ष्मी पूजा गरिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज बेलुका धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्नाले लक्ष्मी प्रशन्न भई धनको कमी नहुने बिश्वास छ । लक्ष्मीलाई सफा र उज्यालो मन पर्ने हुँदा घर, अफिस लगायतका ठाँउमा सरसफाईगरी झिलिमिली समेत लगाएर उज्यालो बनाइन्छ भने विभिन्न प्रकारका रंगेली बनाएर समेत लक्ष्मीलाई आफ्नो घरभित्र पस्न आब्हान गरिन्छ ।
तिहारको दोस्रो दिन आज कुकुर तिहार हो । तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी तिहार पाँच दिन मनाइन्छ ।
तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
यम पञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।