काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको मौलिक संस्कार र संस्कृति यति बेला गम्भीर संकटमा परेको बताएका छन् ।
नेकपा एमाले चितवनले मंगलबार बडादशैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै महासचिव पोखरेलले सहकारी ठगेर खोलिएको सञ्चार माध्यम मार्फत नेपालको राजनीति, संस्कार र संस्कृति माथि आक्रमण गरिएको बताउनुभयो । नेपालको मौलिक संस्कृति माथि निरन्तर प्रहास भइरहेको छ र सांस्कृतिक मूल्यहरूको विगठन सुरु भएको छ’, उनले भने ।
जबसम्म यो प्रवृत्ति माथि विजय प्राप्त हुँदैन तबसम्म देश अघि बढ्न नसक्ने पोखरेलले बताएका छन् । नेपालको मौलिक संस्कृतिको विगठनलाई रोक्न नसक्ने हो भने राष्ट्रलाई बलियो बनाउन नसकिने पोखरेलले स्पष्ट पारेका छन् ।
सहकारीको सिद्धान्त विपरीत बचतकर्ताले जम्मा गरेको सहकारीको पैसा गोर्खा मिडियामा लगानी गरेर सोही मिडिया मार्फत नेपालको राजनीति र राजनीतिक दल माथि धावा बोल्ने काम भएको पोखरेलले बताएका छन् । सो मिडिया मार्फत नेपालका राजनीतिक दललाई कमजोर बनाउने काम भएको पोखरेलको भनाइ छ । अब पुरानाले काम गर्न सक्दैनन् भन्ने भाष्य सोही मिडिया मार्फत निर्माण गर्ने काम गरिएको उनले बताएका हुन्।
पोखरेलले रवि लामिछानेलाई दुई दुई पटक उपप्रधान तथा गृह मन्त्री नेकपा एमालेले बनाएको पनि स्मरण गराएका छन् । जबसम्म लामिछानेले काम गर्न पाउँदैनन् तबसम्म भ्रम छरिरहन्छ र जनताले चिन्न सक्दैनन् भनेर नै उनको वास्तविकता बाहिरे हवस् भनेर एमालले गृह मन्त्री बनाएको पोखरेलले स्पष्ट पारेका हुन् ।
सहकारी ठगी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदन जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पनि हस्ताक्षर गरेका छन् , त्यसकै आधारमा अहिले रवि लामिछाने माथि अनुसन्धान भइरहेको उनले बताएका हुन् । हिजो एमाले र कांग्रेसका नेताहरू अनुसन्धानको लागि पक्राउ पर्दा कुनै पनि विरोध जुलुस नभएका स्मरण गराउँदै पोखरेलले आरोपीलाई अनुसन्धानको लागि पक्राउ गरेर अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नेहरू सुशासनका पक्षधर र नयाँ शक्ति हुन नसक्ने उनले दाबी गरे ।
पोखरेलले जति बेला एमालेका नेता माथि प्रश्न उठ्यो त्यति नै बेला एमालेले कारबाही गरी अनुसन्धान प्रक्रियामा सहयोग गरेको स्मरण गरे । अनुसन्धान र अभियोजनको विरुद्ध आन्दोलन गर्नेहरू किमार्थ सुशासनको पक्षधर नहुने पोखरेलले स्पष्ट पारेका छन् ।
अहिले एमाले र एमाले नेतृत्वको विरुद्धमा अनेक खाकाका भ्रामक प्रचार गरिएको पोखरेलले बताएका छन् । त्यसलाई एमालेका नेता, कार्यकर्ताले चिर्नु पर्नेमा उनको जोड छ ।
पोखरेलले कांग्रेसको अहिलेको पार्टी कार्यालय मैयाँदेवी श्रेष्ठले दिएको दानको जग्गा भएको बताएका छन् । राजनीतिमा कुनै संलग्न नरहेकी मैयाँदेवी श्रेष्ठबाट जग्गा र भवन बनाउने पैसा लिएपछि कांग्रेसले उनलाई पार्टी केन्द्रीय सदस्य र सांसद बनाएको पोखरेलले स्मरण गराएका छन् । राप्रपाले पनि आफ्नो कार्यालय दानमा लिएका पोखरेलले बताएका छन् । तर नेकपा एमालेले आफ्नो पहिलाको भवन भूकम्पले ढले पछि नयाँ घर बनाउन जग्गा दान लिँदा अहिले देशमा बवण्डर मच्चिएको भन्दै उनले आपत्ति जनाएका छन । एमालेका कार्यकर्ता पनि कतै गल्ती पो भयो कि भनेर हिँडेको पोखरेलले बताए ।
यो नेपालमा मात्र नभए विदेशमा पनि भएको उनले बताए । संसार भरिका राजनीतिक दल दान र सहयोगबाटै चलेका उनले स्पष्ट पारेका छन् । ‘अरूले गर्दा लोकतन्त्र हुने, एमालेले गर्दा भ्रष्टाचार हुन्छ ?’, उनले भने ।
पोखरेलले हरेक घटनाको छानबिन गर्न पनि चुनौती दिएका छन् । ‘हरेक घटनाको छानबिन गरौँ, जेल जाने एमालेका होइनन् अरू पार्टीका नेताहरू पर्ने छन्, अहिले सहकारीका जस्तै’, पोखरेलले भने ।
पोखरेलले देश बनाउने हो भने देश बनाउन सक्ने राजनीतिक दलको भर पर्नुपर्ने बताएका छन्। त्यसका लागि बलिया राजनीतिक दल आवश्यक पर्ने पोखरेलले स्पष्ट पारेका छन् । ‘बलिया राजनीतिक दलले देश नउन सक्दछ भन्ने सच्चाइलाई बुझेर हामी अगाडि बढ्नु पर्दछ’, उनले भने ।