लमजुङ । सरकारले सहकारी ठगी सम्बन्धी छानविन गर्न संसदीय छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने प्रष्ट बटमलाइन सुनाएको छ ।
रास्वपाका सभापति रबि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दवाव दिन सडकमा बितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनुसन्धान नरोकिने प्रष्ट बटमलाइन सुनाएका हुन् । सञ्चारमन्त्री गुरुङले जतिसुकै ठूलो दवाव आए पनि सहकारी ठगीमा अनुसन्धान नरोकिने कार्यान्वयनमा कसैको दवावले नरोकिने प्रष्ट पारेका छन् ।
‘माननीय सूर्य थापा नेतृत्वको सर्वपक्षीय संसदीय छानविन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन अघि बढाएको छ । यही क्रममा ६ सयजना जति अनुसन्धानको दायरामा आई पक्राउ परेका छन् । रबि लामिछाने पनि उही क्रममा पक्राउ परेका हुन् । कोही भ्रममा पर्नु वा भ्रममा पार्न जरुरी छैन,’ एमाले लमजुङले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चार मन्त्री गुरुङले भनेका छन् ।
उनले सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिष गर्नेहरुको अभियान सफल नहुने र दोषी प्रमाणित भए सजाय भोग्न तयार हुनुपर्ने प्रष्ट पारेका छन् । ‘सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न, छानविनका दायरामा परेका सवैमाथि अनुसन्धान अघि बढछ, सडकमा जतिसुकै भीड देखाए पनि केही हुनेवाला छैन,’ मन्त्री गुरुङले भने ।
उनले अपराध गर्ने जोकोही पनि अव बच्न नसक्ने तथ्यलाई आत्मसात गरी अनुसन्धानमा सहयोग गर्नुको बिकल्प नरहेको प्रष्ट मान्यता पनि सुनाएका छन् । मन्त्री गुरुङले सडकमा बितण्डा देखाएर सुशासनको बिपक्षमा रास्वपा उभिएको हो भन्ने पनि प्रष्ट गराएका छन् ।