एउटा विधामा चर्चामा आउने बित्तिकै राजनीतिमा सफल भइन्न : महासचिव पोखरेल

Telecom

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिले समग्र समाजलाई दिशानिर्देश गर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ जिल्ला कमिटी काठमाडौंद्वारा शुक्रबार आयोजित नारी सङ्कल्प विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै महासचिव पोखरेलले कुनै एउटा लक्षमा आधारित भएर राजनीति गर्नुपर्ने बताएका हुन् । ‘त्यो राजनीतिले मात्रै समाजका समस्यालाई समाधान र सम्बोधन गर्ने सामर्थ्य राख्दछ’, पोखरेलले भने ।

कुनै एउटा विधामा चर्चामा आउने बित्तिकै राजनीतिमा सफल होइन्छ भन्ने मान्यता काठमाडौंको निर्वाचनले स्थापित गर्न खोजेको पोखरेलले बताए । ‘र्याप गाउँदा गाउँदै मेयर भए भने पछि राजनीति गर्न त कुनै एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो’, उनले भने ।

विचारको आधारमा होइन लोकप्रियताको कसीमा राजनीतिलाई अघि बढाउन खोजिएको उनले बताएका छन् । ‘विचारका आधारमा भन्दा प्रतिक्रियाको आधारमा राजनीति चल्दै छ, आज कसैको विरोध गर्‍यो भने मान्छे लोकप्रिय हुन्छ, विरोध समस्याको समाधान हो र ?’, पोखरेलले प्रश्न गरे ।

विरोध गर्ने संस्कृतिले समाजलाई भाँड्ने तर राजनीतिक निकास नदिने उनले प्रष्ट पारेका छन् । यसले समाजलाई पछि धकेल्ने र राजनीतिको दिशा गलत बाटो तर्फ जाने पोखरेलको भनाइ छ । ‘राजनीति समग्र समाजलाई दिशा निर्देश गर्ने केन्द्रिय प्रश्न हो’, उनले भने ।

एउटा लोकप्रियताको भरमा व्यक्तिले राजनीति सुधार गर्दछ भन्ने मान्यता एक किसिमको कल्पना मात्र भएको पोखरेलले दाबी गरेका छन् । राजनीतिको सुधार संस्थागत संगठनले मात्र गर्न सक्ने पोखरेलले बताएका छन् । काठमाडौंमा हुने उपनिर्वाचनबाट विगतको भुललाई सच्याउनु पर्ने उनको धारणा छ । मुख्य नेतृत्व एमालेले गुमाउँदाको पीडा आज काठमाडौंका जनताले भोगिरहेको पोखरेलले बताएका छन् ।

एमालेलाई असफल बनाउँदा नेपाललाई नै असफल बनाउन सकिन्छ भनेर केही तत्त्व एमाले विरुद्धको घेराबन्दीमा लागेको उनले बताएका छन् । एमालेलाई विभाजन गराएपछि नेपालको राजनीति सामाजिक अराजकता, राजनीतिक अस्थिरता, सामाजिक मूल्य मान्यताको विगठन, धार्मिक अतिक्रमणको चपेटामा गुज्रिएको पोखरेलको भनाइ छ ।

adb bank long