काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षी दलले सरकारका विरुद्ध कुण्ठाले ग्रस्त भएको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले बाढी पहिरोको बेलामा प्रतिपक्षी दलले सघाउनुको सट्टा कुण्ठाग्रस्त व्यवहार गरेको लेखेका छन् । ‘सङ्कटका समयमा प्रतिपक्षी दलको यस प्रकारको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुन्छ’, पोखरेलले लेखेका छन् ।
पुष्पकमल दाहालले जाजरकोट भूकम्पका वेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी, पहिरो र डुबानका समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लागेको उनले टिप्पणी गरेका छन् । ‘जाजरकोट भूकम्पका वेला न सडक अवरुद्ध थियो, न त मौसमी प्रतिकुलता नै थियो, निराश बनेका जनतामा आशा जगाउन त्यति वेलाको प्रमुख प्रतिपक्ष राज्य पक्ष भन्दा अगाडी बढेर राहत र उद्धारमा जुटेको थियो, यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ’, पोखरेलले लेखेका छन् ।
यस पटकको बाढी, पहिरो र डुबानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय रहेको उनले उल्लेख गरेका छन् । ‘राजधानी जोडने सबै बाटाहरू अवरुद्ध भएका थिए, प्रभावित क्षेत्रमा अधिकांश ग्रामीण सडक समेत अवरुद्ध थिए, लगातारको वर्षातका कारणले भिजिबिलिटीको अभावमा उडानमा समेत समस्या उत्पन्न भएको थियो, त्यस्तो अवस्थामा राज्यका निकायले उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित होइन, तर सत्ता वियोगको छटपटीबाट बाहिर निक्लन नसकिरहेको प्रमुख विपक्षी दल जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको छ’, उनले लेखेका छन् ।
यस पटक सरकार विपद् पर्यटनलाई रोक्न पूर्णतः सफल भएको उनको दाबी छ । जाजरकोट भूकम्पको बेलामा भएको जस्तो विपद् पर्यटनको पीडा बाढी पहिरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु नपरेको पोखरेलको ठहर छ । ‘यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो’, पोखरेलले लेखेका छन्।
क्षतिग्रस्त सडक सुचारु गर्ने कुरामा सरकारले अपेक्षा गरिएको भन्दा छिटो सफलता प्राप्त गरेको पोखरेलको दाबी छ । बिपी राजमार्गको दुरावस्था देखेकाको लागि राज्यका निकायले गरेको काम निकै प्रशंसनीय रहेको उनले उल्लेख गरेका छन् । ‘खुर्कोट–रामेछाप जोड्ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा बेली ब्रिज जडान गर्ने कुरामा नेपाली सेना र प्राविधिकहरूले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो, तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा गरेर आलोचनाका लागि आलोचनामा केन्द्रित छ’, पोखरेलले लेखेका छन् ।