काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जसले जति आलोचना गरे पनि वर्तमान सरकार देश र जनताको लागि क्रियाशील रहेको बताएका छन्।
रामेछाप र सुनकोशी जोड्ने खुर्कोट स्थित सुनकोशी नदीमा बेलीब्रिज निर्माण गर्ने सरोकारवालालाई धन्यवाद दिन मंगलबार मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गेलले केपी ओली नेतृत्वको सरकार बाढी पहिरो प्रभावितको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण लागि काम गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीकै निर्देशन बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेनालाई खुर्कोटको बेलीब्रिज निर्माणको जिम्मा दिएर १८ दिनमा नै पुल बनेको ढुङ्गेलले बताएका छन् ।
कार्यक्रममा बोल्दै ढुङ्गेलले कांग्रेस र एमाले सत्ता साझेदार भएकाले एकले अर्कालाई आरोप, प्रत्यारोप गरेर होइन सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । ‘कांग्रेस र एमालेको इज्जत यही सरकारसँग छ, सरकारले राम्रो काम गर्दा कांग्रेस र एमालेको इज्जत रहन्छ, नराम्रो काम गर्दा इज्जत जान्छ’, ढुङ्गेलले भने ।
ढुङ्गेलले जिम्मेवारीमा रहेकोले काम गर्नुपर्ने बताउँदै जिम्मेवारीमा रहेकाले काम गरेको कुरा खासै चर्चाको विषय नहुने बताएका छन् । जिम्मेवारीमा नहुँदा पनि काम गर्ने व्यक्ति भने महान् हुने उनले स्पष्ट पारेका छन् ।
गत असोज १० देखि १२ गतेसम्मको बाढीले काभ्रे, रामेछाप र सिन्धुलीका रोशी र सुनकोशी करिडोरमा ठुलो क्षति भएको बताउँदै उनले त्यसको व्यवस्थापनको काममा सरकार लाग्नु पर्ने बताएका हुन् । खैरेनीघाटको पुल बगाउँदा रामेछापको पश्चिमी क्षेत्र समस्यामा परेको भन्दै ढुङ्गेलले सो स्थानमा तत्कालको लागि बेलिब्रिज व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।