पोखरा । सहकारी ठगीको आरोपमा गत शुक्रवार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एबं पूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा मंगलबार तीन घण्टा बयान दिएका छन् ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका हुन्। दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म लामिछानेसँग बयान लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताएका छन्।
मंगलवारबाट औपचारिक बयान सुरु भएको र विभिन्न बैंकहरूमा पत्राचार गर्ने काम भएको जनाइएको छ । आज बुधवार बयान गर्ने कि नगर्ने भन्ने बिषयमा प्रहरी र सरकारी वकिलबीच छलफल भएपछि मात्र निर्णय हुने बुझिएको छ ।
पत्राचार गरेका विभिन्न बैंकले जबाफ पठाएपछि सोही जबाफसहित बयान लिँदा थप सहज हुने अनुसन्धान अधिकारीहरूको भनाइ रहेको बुझिएको छ ।
लामिछानेलाई गत शुक्रवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँबाट पक्राउ गरेर कास्की लगेर बुझाएको थियो । उनलाई आइतवार अदालत उपस्थित गराएर छ दिनको म्याद थपिएको छ जुन आज सकिँदै छ । भोलि पुन: रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ ।