भीम रावलसहित ३ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

Telecom

काठमाडौं । नेकपा एमालेले पार्टीको कार्यालय निर्माणको सन्दर्भमा पार्टी निर्णय विरुद्ध बोल्ने नेताहरूसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले लामो समयदेखि पार्टी हित विपरीत विचार प्रकट गर्दै आएको भन्दै पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

त्यसैगरी पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि के कारणले पार्टी निर्णय विपरीत पार्टी कार्यालय निर्माणको सम्बन्धमा अभिव्यक्ति दिएको हो भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । ‘पार्टी नीति विपरीत अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरूले त्यस प्रकारका गतिविधिहरू गरिराख्नु भएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने कुरा भएको छ’, पोखरेलले भने ।

एमालेलाई भएको क्षतिमा सहयोग स्वरूप जग्गा दान गर्ने पवित्र उद्देश्यका साथ मीनबहादुर गुरुङले जग्गा दान गरेको पोखरेलले बताएका छन् । यसमा कुनै पनि स्वार्थ नबाझिएको उनले स्पष्ट पारेका छन् ।

पत्रकारले सोधेको अर्को जिज्ञासाको जवाफमा पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संसदीय समितिले गरेको सिफारिसको आधारमा प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरेको बताएका छन् । यो विषय सरकारको मात्र विषय नभई संसद्को साझा सरोकारको विषय भएको उनले स्पष्ट पारेका छन् । ‘यसमा सरकार भर्सेस हुन कुनै आवश्यक छैन’, उनले भने ।

एमालेको दृष्टिकोण कुनै अमुक व्यक्तिलाई कारबाही हुनुपर्छ भन्ने धारणा नभएको उनले बताएका छन् । अनुसन्धानले जे देखाउँछ सोही अनुसार अघि बढ्नु पर्ने एमालेको स्पष्ट धारणा रहेको पोखरेलले बताए ।

adb bank long