काठमाडौ । गत असोज ११ र १२ गतेको मुसलधारे वर्षासंगै आएको बाढी, पहिरो र डुबानबाट क्षति पुगेका ललितपुर जिल्लाका विद्यालयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले स्थलगत निरीक्षण गरेकी छन्।
निरीक्षणका क्रममा मन्त्री भट्टराईले ४ ओटा विद्यालयको स्थलगत अवलोकन गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। बाढी र पहिरोका कारण क्षती पुगेका कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको मन्त्री भट्टराईले निरीक्षण गरेकी हुन् ।
स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले क्षति भएका विद्यालयमा आवश्यकता अनुसार तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताएकी छन् । उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद प्रतिरोधी जग्गामा मापदण्ड अनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्ने उल्लेख गर्दै यसका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताएकी छन् ।
निरीक्षणमा मन्त्री भट्टराईसंगै उक्त निर्बाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसदद्वय उदय समशेर राणा र प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री, बाग्मती प्रदेश सभाका सांसद्, सम्बन्धित स्थानीय तहका प्रमुख/उपप्रमुख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लगायतको संलग्नता रहेको थियो ।