काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट जिल्ला भेला सुरु गर्ने भएको छ । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो।
सुर्खेतको भेलाका लागि पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको सो पार्टीले जनाएको छ।
सचिवालयको बैठकमा मेची महाकाली यात्राका बारेमा पनि छलफल भएको बुझिएको छ । गत असोज १ र २ गते भएको राष्ट्रिय भेलाले पार्टी सभापति रवि लामिछानेले देशव्यापी यात्राको लागि राखेको प्रस्तावलाई पारित गरेको थियो । सोही कुरालाई सचिवालयले पास गरेको छ तर यात्राका लागि मिति भने तय भइसकेको छैन ।
रास्वपाले आजबाट सुरू गरेको जिल्ला भेला एक महिना भित्र सबै जिल्ला सक्ने तयारी गरेको जनाएको छ । रास्वपाले २०८२ बैशाखको अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यस अनुसारको कार्यतालिका कार्यवाहक महामन्त्री बुर्लाकोटीले राष्ट्रिय भेलामा प्रस्तुत गरेका थिए ।
बुर्लाकोटीको प्रस्तावलाई राष्ट्रिय भेलाले पारित गरेको थियो। वडा तदर्थ समिति गठन यही वर्षको माघभित्र सक्ने रास्वपाको लक्ष्य छ । वडा तदर्थ समिति गठन सकिनासाथ वडा अधिवेशन फागुनसम्म सक्ने रास्वपाको तयारी छ।
पालिका अधिवेशन कात्तिकबाट सुरु गरेर पाँच महिनाभित्र (फागुनसम्म) सक्ने , जिल्ला अधिवेशन चैतभित्र गर्ने, प्रदेश र केन्द्रको महाधिवेशन २०८२ वैशाखमा गर्ने गरी रास्वपाले निर्णय लिएको छ ।