आजदेखि सरकारी कार्यालय खुले, अदालत भने पूर्णिमापछि खुल्ने

Telecom

काठमाडौ । हिन्दू धर्माबलम्बीहरूको महान् चाड बडा दसैंमा बन्द भएका सरकारी कार्यालयहरू आज (मंगलबार) देखि खुलेका छन् । सरकारी कार्यालय खुलेपनि अदालत भने पूर्णिमाको भोलिपल्ट मात्र खुल्ने सर्बोच्च अदालत प्रशासनले जनाएको छ ।

सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन् । सरकारी कार्यालयहरूमा आजदेखि नियमित सेवा सञ्चालन हुने भएको छ ।
सरकारी कार्यालय खुलेपनि दशैको टीका लगाउने क्रम भने जारी नै छ । यो क्रम पूर्णिमासम्म जारी रहन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेको देखिन्छ ।

यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैं समापन हुन्छ ।

adb bank long