मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा १ को मृत्यु, ३ घाइते

Telecom

चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने चितवनको रत्ननगर नगरपालिका–३, शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

नगरपालिका अन्तर्गत पर्ने खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २१ का दीपेश चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतवार साँझ ६ बजेतिर भएको दुर्घटनाबाट गम्भीर घाइते अवस्थामा रहेका चौधरीको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा साँझ सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१ बस्ने वर्ष २४ का अर्जुन चौधरी गम्भीर घाइते छन्। नाक र मुखमा चोट लागी घाइते भएका उनको मनकामना अस्पतालमै उपचार भइरहेको छ।

त्यसैगरी मोटरसाइकल चालक खैरहनी नगरपालिका –१ बस्ने वर्ष २२ का अनिस बस्नेत र सोही मोटरसाइकलको पछाडि बस्ने सोही स्थानका वर्ष २२ को सुजेक दराई पनि घाइते छन्। उनीहरुको अवस्था मध्यम रहेको र पुरानो मोडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

adb bank long