आज बडादशैँ अर्थात् विजयादशमी, कसरी लगाउने टीका ?

Telecom

काठमाडौ । आज हिन्दू धर्माबलम्बीहरूको महान चाड बडादशैँ । बडादशैंको दशमीको दिनलाई विजयादशमी पनि भनिन्छ। परापूर्वकालदेखि नै असत्यमाथी सत्यको विजय भएको दिनको रूपमा बनाउने यो पर्वले बच्चादेखि बुढासम्म खुसी छर्ने गर्दछ । मीठो खाने र राम्रो लाउने पर्वका रूपमा पनि दशैँलाई लिने गरिन्छ । त्यसैले मानिसहरूले अहिले पनि केही सहज जीवन भएमा नयाँ खुसी मिलेमा ‘फलानालाई त दशैँ छ… ‘ भन्ने गर्दछन् ।

यस दिनलाई भगवान् श्रीरामले रावणमाथी विजय गरेको दिनका रूपमा मानिन्छ। यससँगै भगवती दुर्गादेवीले महिषासुर, चण्ड, रक्तविज, शुम्भ-निशुम्भ नामका राक्षसहरूमाथि विजय प्राप्त गरेको दिनका रूपमा पनि मानिन्छ।

यसलाई देवताहरूले असुर प्रवृत्तिमाथि विजय प्राप्त गरेको दिन मानिन्छ। ९ दिनसम्म पूजा गरिएको कलशको जल अभिषेक गर्ने, कलशमा राखिएका राता, सेता ध्वजा र बाँधिएका रक्षा विधानहरू पुरोहितको हातबाट बाँध्ने चलन छ।

त्यसपछि घरमुलीले परिवारका सबै सदस्यलाई तिलक, प्रसाद, अक्षताको टीका र जमरा लगाइदिने चलन छ।

त्यस्तै आफूभन्दा सानालाई अभिभावकहरूले टीका र जमरा लगाइदिन्छन्। यो क्रम कहिँकतै आजका दिनमात्र गर्ने गरिन्छ भने कहिंकतै आजदेखि कोजाग्रत पूर्णिमासम्म चल्छ। आजको दिन पिङमा मच्चिएर भुइँ छाड्ने चलन पनि नेपाली समाजमा रहिआएको छ।

यही महान् चाडको अवसरमा विभिन्न जिल्लाबाट काठमाडौ उपत्यकामा आई विभिन्न पेशा व्यबसाय गर्ने र अध्यापन अध्यायन गर्ने झण्डै १३ लाख मानिस आफ्नै जिल्ला फर्किसकेका छन् ।

यस वर्ष घटस्थापनाका दिन आब्हानगरी पूजा गर्दै आएका नवदुर्गाहरूको  विसर्जनको साइत आज शनिबार बिहान ८ बजेर ३३ मिनेटमा रहेको छ भने टीकाको साइत ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ ।

सो साइतमा टीका लगाउने अनुकूल मिलेन भने भगवतीको टीका प्रसाद लगाउन यो दिन अरू कुनै पनि साइत पर्खनु नपर्ने पङ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मनमा भगवतीको स्मरण गरेर कुनै पनि समयमा भगवतीको प्रसाद लगाउन र लगाइदिन सकिनेछ ।

यसबर्ष टिका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्कने र लगाइमाग्ने व्यक्ति पूर्वतिर फर्केर टीका र आशीर्वाद ग्रहण गर्नु उत्तम हुनेपनि समितिले जनाएको छ ।

प्रोटोन एजुकेसन
adb bank long