एजेन्सी । एयर इण्डियाको विमान साढे दुई घण्टादेखि आकाशमा घुमिराखेको छ । तमिलनाडुको तिरुचिरापल्लीबाट भारतीय समयअनुसार आज शुक्रवार साँझ ५ः४० बजे शारजाहका लागि उडेको एयर इन्डियाको विमानमा ठूलो प्राविधिक गडबडी भएको छ ।
विमान उड्ने वित्तिकै ल्यान्डिङ गियरमा जोडिएको हाइड्रोलिक सिस्टम फेल भएको हो । त्यसयता प्लेन करिब साढे दुई घण्टा आकाशमा परिक्रमा गरिरहेको छ ।
एयर इण्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्यहरू छन्। दुर्घटना भएको थाहा पाएलगत्तै विमानस्थलमा आपतकाल घोषणा गरिएको थियो । जानकारीका अनुसार पाइलटले विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका छन् । यसपछि विमानको आपतकालीन अवतरणको सम्भावना रहेको छ ।
पाइलटको आपत्कालीन सन्देश पाएपछि विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गरिएको छ । आकस्मिक उद्धार टोली पनि तयार छ।
विमानस्थलका सम्पूर्ण कर्मचारीलाई अलर्टमा राखिएको छ । एयर ट्राफिक कन्ट्रोलले अवतरणको घोषणा गरेलगत्तै निर्धारित प्रक्रिया अनुसार यसको आकस्मिक अवतरण गर्न सकिनेछ ।