काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गरेका छन् ।
भटटभटेनी सुपर मार्केट्सका संचालक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङबाट प्राप्त गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाएका छन् ।
२०७२ सालको बिनासकारी भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा आफ्नो कार्यालय राखेको थियो। त्यसपछि बबरमहलमा कार्यालय सारेको थियो । बबरमहलमा छोटो समयमात्र कार्यालय सञ्चालन गरेको एमालेले पछि ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले सो जग्गामा आफ्नै भवन बनाउने निर्णय गरेको थियो ।
जग्गा दान गरेसंगै पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताएका छन् ।
उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी समेत दिएका छन् ।