काठमाडौ । आज नेकपा एमालेले केन्द्रीय कार्यालय भवनक शिलान्यास गर्ने भएको छ ।
२०७२ सालको बिनासकारी भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा आफ्नो कार्यालय राखेको थियो। त्यसपछि बबरमहलमा कार्यालय सारेको थियो । बबरमहलमा छोटो समयमात्र कार्यालय सञ्चालन गरेको एमालेले पछि ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कीर्तिपुर नगरपालिका २ स्थित कलङ्की तीनधारामा आज केन्द्रीय कार्यालय भवनको स्थापना गर्ने निर्णय गरेको हो ।
बिहीवार दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुरको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको हो ।
कार्यालय भवनको शिलान्यास आज शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
बल्खुको कार्यालयमा भूकम्पले क्षति पुगेपछि भाडाको भवनबाट कार्यालय चलाउँदै आएको एमालेले अब कीर्तिपुरमा भने स्थायी कार्यालय सन्चालन गर्ने निर्णय गरेको छ । नयाँ कार्यालय भवन मदन भण्डारीको स्मृतिमा बनाइने छ ।