हेटौडा । हेटौँडा–भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधवार बेलुका ट्याक्सी र मिनीबस एक आपसमा ठोक्किदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ।
हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौंबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी बसमा सवार ३५ जना यात्रु घाइते भएको र घाइतेहरुको उद्धारगरी उपचारका लागि हेटौँडास्थित अस्पताल ल्याइएको प्रहरीले बताएको छ। घाइते मध्ये छ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते छ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भईरहेको छ। दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण सो सडक बुधवार बेलुका केहीबेर अवरुद्ध समेत भएको थियो ।