काठमाडौ । हिन्दू धर्माबलम्बीहरूको महान् चाड बडादशैँको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ ।
चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी सिंहवाहिनी कात्यायनीको पूजा आराधनाबाट सम्पूर्ण संकट नाश हुने जन विश्वास गरिन्छ ।
पौराणिक शास्त्र अनुसार महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट यी देवी उत्पन्न भएकी थिइन् ।
कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उन(ऋषि)लाई आफु पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो ।
नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखी घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो।
त्यस्तै तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएक थियो। चौथो दिन कुष्माण्डा देवीको पूजा गरिएको थियो । नवरात्रको पाँचौ दिन देवी स्कन्धमाताको पूजा आराधना गरिएको थियो ।
तर आज ११:३९:०७ बजेसम्म पञ्चमी तिथि नै भएकाले त्यसपछि मात्र छष्टी अर्थात् कात्यायनीको पूजाआराधना गर्नु उपयुक्त हुने बताइएको छ ।
त्यसैगरी आज नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्धदेवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ। बडादशैँका दिनबाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।