काठमाडौ । यही असोज ११ र १२ गते परेको मुसलधारे बर्षाले आएको बाढी र पहिरोले बीपी राजमार्गको झण्डै ९० प्रतिशत सडक क्षतबिक्षतभई सवारी आवतजावत ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झण्डै ९० प्रतिशत सडक क्षतविक्षत भएको छ।
योसंगै यो राजमार्ग भएर गुड्ने साना तथा मझौला सवारी समेत त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डबाट आवतजावत गर्नुपर्ने भएकाले यी सडकमा सवारीको चाप बढेको हो।
एकातिर झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप, त्यसमाथि बीपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वीराजमार्ग झनै व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थपगरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।
सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आवतजावत गर्ने सवारीले काठमाडौंको नागढुङ्गा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौँडा हुँदै महोत्तरीको बर्दिवास पुगेर आआफ्नो गन्तव्यतिर लाग्ने गरेका छन्।
बीपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौंबाट पाँच घण्टामा बर्दिवास पुगिने भए पनि नागढुङ्गा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौंबाट बर्दिवास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने गरेको गुनासो चालक र यात्रुको छ ।
यसरी एकातिर सवारीको चाप र अर्कोतिर पहिरोका कारण ठाँउठाँउमा सडक एकतर्फी भएकाले दुर्घटनाको जोखिम उच्च रहेको प्रहरीले जनाएको छ ।