हवाईयात्रा गर्नेको संख्या बढेसंगै आजबाट रात्रिकालिन उडान सुरू

Telecom

काठमाडौ । यही असोज ११ र १२ गते परेको मुसलधारे बर्षासंगै आएको बाढी र पहिरोले राजमार्ग र पुलहरू भत्काउने तथा बगाउने गरेपछि अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् । जसको कारण नेपालीको महान चाड दशैंमा बाहिरिनेहरूले सास्ती भोग्नु परेको छ । यही अबस्थालाई मध्यनजर गर्दै सरकारले आज घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालिन उडान सुरू गरेको छ ।

दसैँको मुखमा आ–आफ्नो गन्तव्यमा जान हौसिएका नागरिक सडक अवरुद्ध हुँदा निराश छन् । सडक यातायात सहज नभएको र हवाई यातायात पनि सबैको पहुँचमा नभएकाले थप सास्ती व्यहोर्नुपरेको धेरैको गुनासो छ ।

यसरी सडक अबरूद्ध भएको र दशैं तिहार नजिकिएकोले हवाई यात्रा गर्नेहरूको संख्या बढेको छ । सिमित उडान भएका नेपाली एयरलाइन्स कम्पनीहरूले यो चापलाई थेग्न गारो भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् । असोज १५ गते दुवैतर्फ गरी पाँच सय ११ उडान भएका छन् ।

उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ । समयमा आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’मा बस्नुपर्ने बाध्यता छ । उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् ।
फ्लाइट राडरका अनुसार मङ्गलबार र बुधबार करिब एक घण्टा विमान होल्ड भएका थिए । यसकारण आन्तरिकतर्फका एयरलाइन्सले पटकपटक उडान समय परिवर्तन गर्नुपरेको छ ।

सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन् । उनले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन् ।

मन्त्री पाण्डेले भने, “बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छु ।” साथै उनले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने उल्लेख गरे ।

adb bank long