काठमाडौ । नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले ५० लाख रूपैयाँ नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब रूपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे पनि बैठकलाई अवगत गराएका छन् ।
यसअघी नेपाली काङ्ग्रेसले पनि ५० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ । सोमवार प्रधानमन्त्री अमेरिकाबाट फर्के लगत्तै भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरूङले १ करोड ११ लाख ११ हजार १ सय ११ रूपैयाँ प्रधानमन्त्री मार्फत जम्मा गरिसकेका छन् ।