काठमाडौ । नेकपा एमालेले स्थापना गरेको सामाजिक सेवा केन्द्रले बाढी पहिरोबाट प्रभावितहरूलाई उद्धार र सहयोग वितरणको काम निरन्तर अघि बढाएको छ ।
प्राकृतिक विपदमा परेका काठमाडौं उपत्यका तथा देशभरका पीडितलाई सहयोग गर्न सुरु गरिएको सामाजिक सेवा केन्द्रका संयोजक मोतीलाल दुगडले जनकारी दिएका छन् । एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा सामाजिक सेवा केन्द्रका संयोजक रहनुभएका दुगडले उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेको बताएका हुन् । ‘तत्काल उद्धार गर्नुपर्नेहरुलाई उद्धार गरिरहेका छौँ, राहत चाहिनेका लागि त्यसको समेत बन्दोबस्त गरिरहेका छौँ’, उनले भने ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार उद्धार र राहतको काममा खटेको दुगडले जानकारी दिएका छन्। ‘प्रधानमन्त्रीले विदेशमा रहँदा नै जतिसक्दो चाँडो उद्धार र राहतमा जुट्न निर्देशन दिनुभएको थियो, सोही निर्देशन अनुसार हामी खटीरहेका छौँ’, उनले भने ।
एमालेको सामाजिक सेवा केन्द्रबाट यस पटकको बाढी, पहिरो र डुवान पीडितलाई एक करोड रुपैँया बराबरको राहत वितरण गर्ने योजना पनि उनले सुनाएका छन् ।
२०७८ सालमा कोभिडको समयमा समस्यामा परेकालाई सहयोग गर्न एमालेले सामाजिक सेवा केन्द्र स्थापना गरेको थियो । सो केन्द्रले विभिन्न विपदमा परेकालाई निरन्तर सहयोग गर्दै आएको छ ।