काठमाडौ। शुक्रवार र शनिवार परेको मुसलधारे बर्षासंगै आएको बाढी पहिरो र डुबानका कारण दुईसय भन्दा बढीको मृत्यु भएपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।
सोमबार संयुक्त राष्ट्रसंघको महासभामा भागलिन गएका प्रधानमन्त्री केपी शर्मा ओली फर्किए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै (मंगलवारदेखि) तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि गरेको प्रवक्ता गुरुङले जानकारी दिएका छन्।
त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए।
असोज १० गतेदेखि भएको वर्षाका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ।