काठमाडौ । गत शुक्रवारदेखि परेको मुसलधारे वर्षासंगै आएको पहिरोमा परि धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलामा ४ वटा बस पुरिएका थिए । जसमध्ये बुटबलबाट काठमाडौ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर) मा पुरिएर गुल्मी जिल्लाका छ जनाले ज्यान गुमाएका छन् । सो विङ्गरमा यी छ जनासहित १४ जनाले ज्यान गुमाएका थिए ।
नौबिसे–नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा गाडी पुरिँदा गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ का एकै परिवारका ३ जना र गुल्मीदरवार गाउँपालिका चारपालाका एकै परिवारका ३ जना गरि ६ जनाको दुखद निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी शंंकर पोखरेलका अनुसार मदाने गाउँपालिका-६ का ३४ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती अनु कुँवर र बहिनी सिर्जना कुँवरको मृत्यु भएको छ । कोरियाको रोजगारबाट फर्किएका प्रकाशको एक महिना अघि मात्र विवाह भएको थियो ।
त्यसैगरी गुल्मीदरबार- ७ लामडाँडाका पनि एकै परिबारका तिन जनाको मृत्यु भएको वडाका वडाध्यक्ष शालिकराम टण्डनले जानकारी दिए ।
टण्डनका अनुसार लामडाँडाका ६३ वर्षीय जुद्धबहादर रायमाझी, उनकी बुहारी ३१ वर्षीय प्रमिता भुसाल रायमाझी र उनका ३ वर्षीय छोरा पिसव रायामाझीको मृत्यु भएको छ ।
सोही पहिरोमा २ वटा बस र २ वटा माइक्रोबस पुरिएको र हालसम्म ३० जनाको शव भेटिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। उत्खनन् कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।