सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोले दुई घर बगाउँदा पाँच जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेकाअनुसार मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङ रहेका छन्।
स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा ल्हामु, उनका छोरा फुर्वा र रीनाको मृत्यु भएको हो।
सोही घटनामा ६२ वर्षीया याङजी शेर्पा घाइते भएकी छिन्। उनको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।यस्तै पहिरोले घर बगाउँदा सोलुदूकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठाउँकी २४ वर्षीया रुपु मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए।
लगातार परेको वर्षाका कारण चैलुङका टेकबहादुर मगरको ढुङ्गा माटोले बनेको काठको छानो भएको एकतले घर पहिरोले बगाउँदा कविता र रुपुको मृत्यु भएको हो।