काठमाडौ। कार्यवाहक प्रधानमन्त्री एबं शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले आज दिउँसो एक बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन्।
अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको उनको सचिवालयले जनाएको छ ।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। विपदमा परि १ सय जनाले ज्यान गुमाएका छन् भने ७० बढी बेपत्ता भएका छन् ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ।
त्यस्तै अहोरात्र सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी आफैं पनि लागिरहेको उल्लेख गर्दै सिंहले यो विषम परिस्थितिमा विपदमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन्।