काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सांस्कृतिक मूल्य, मान्यता विघटनको प्रक्रिया तीव्र गतिमा अघि बढेको बताएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार आयोजित बडादशैँ, तिहार, नेपाल संवत् र छठ लगायत राष्ट्रिय पर्वहरूको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम बोल्दै महासचिव पोखरेलले सांस्कृतिक मूल्य र मान्यताहरू विघटन हुँदै जाँदा देश गम्भीर संकटमा पर्ने बताएका हुन् । ‘हाम्रा संस्कृति हाम्रो सबल राष्ट्र निर्माणको आधार हो’, उनले भने ।
जातीय अतिवाद, धार्मिक अतिवादी र धर्मान्तरले सांस्कृतिक मूल्य मान्यतालाई विघटनको दिशा तर्फ लैजाने पोखरेलले बताएका छन् । मौलिकताको संरक्षण गर्नु सबैको कर्तव्य भएको पोखरेलले प्रष्ट पारेका छन् ।
दशैँमा घर फर्कँदा सबैले सकारात्मक सोच र सन्देश लिएर गाउँ फर्कनु पर्ने पोखरेलले बताएका छन् । यसो गर्न सक्दा मात्र समाज र देशका लागि हित हुने पोखरेलले स्पष्ट पारेका छन् । नकारात्मक सोच र प्रचारले देश र समाज समृद्धिको दिशामा अघि नबढ्ने उनले बताएका छन् ।
समाजमा देखिएको अराजकता र निराशालाई चिर्न सकियो भने मात्र दशैँ मान्नुको अर्थ र आसुर्य शक्ति माथि दैवीशक्तिको विजय हुने उनको धारणा छ । ‘यसो गर्न सकियो भने हाम्रा सांस्कृतिक पर्वहरूको मूल्यलाई स्थापित गर्न सक्दछौँ’, उनले भने ।
सभ्य र सुसंस्कृत समाज निर्माणको लागि समाजमा देखिएका सबै खालका बेथिति तथा सामाजिक सञ्जाल मार्फत हुने गलत प्रचारलाई चिर्न सक्नु पर्नेमा उनले जोड दिएका छन् । सामाजिक सञ्जाललाई असल सूचना प्रवाह गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।