काठमाडौ । शुक्रवारदेखि परेको अबिरल बर्षाका कारण बाढी पहिरोमा परेर आज शनिबार बिहानसम्म काठमाडौँ उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको छ।
हालसम्म काठमाडौमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। काठमाडौ उपत्यका प्रहरी कार्यालयका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।
बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए।
यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।