सार्वजनिक निकायले जनतालाई प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउनु सबैको साझा उद्धेश्य हो : मन्त्री गुप्ता

Telecom

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सार्वजनिक निकायले जनतालाई प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउनु सबैको साझा दायित्व र उद्देश्य भएको बताएका छन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार ललितपुरको जावलाखेलमा सम्बोधन गर्दै उनले सरकारी निकाय र सार्वजनिक संस्थानका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने र सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने उपायहरू सुझाउन प्रतिष्ठानले अनुसन्धान एवम् परामर्श कार्यहरू सञ्चालन गर्दै आएकामा खुसी व्यक्त गर्दै सार्वजनिक निकायले जनतालाई प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउनुपर्ने बताएका हुन् ।

‘सार्वजनिक निकायले जनतालाई प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउनु नै हामी सबैको साझा उद्देश्य हो,’ मन्त्री गुप्ताले भने, ‘प्रतिष्ठानले उल्लेखनीय कार्यसम्पादन गर्दै सिकाइको उत्कृष्ट केन्द्रका रूपमा निरन्तर अघि बढिरहेकोमा प्रशिक्षण परिषद्को अध्यक्षको हैसियतले मलाई गर्वको अनुभूति भएको छ । यस्तै, उनले प्रतिष्ठानले कर्मचारीहरूको वृत्ति विकासमा सहयोग पु¥याउने मात्र नभई उनीहरूको कार्यगत सिप, सकारात्मक मनोवृत्ति एवम् सेवाको भावना विकास गर्ने र कार्यसम्पादनमा गुणात्मक रूपले अभिवृद्धि ल्याउने खालका तालिम कार्यक्रमहरू प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

प्रतिष्ठानले स्थापनाको चार दशकको अवधिमा संस्थागत परिवपक्वता हासिल गरेको महशुस सबैको गरिरहेको भन्नुहुँदै मन्त्री गुप्ताले तालिम कार्यक्रमहरूको तर्जुमा एवं सिकाई विधिहरूको स्तरीकरण गरी समग्र तालिमको गुणस्तर अभिवृद्धि गरिरहेको कदरस्वरूप प्रतिष्ठान ‘आईएसओ ९००१ एम २०१५’ बाट प्रमाणीकरण भएकामा बधाइ ज्ञापन गरे। उनले प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता अनुरूप क्षमता विकासका कार्यक्रमहरू अझै उत्कृष्ट ढङ्गले सञ्चालन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा उनले मुलुकले अवलम्बन गरेको संघीय शासन प्रणालीलाई सुदृढ गर्नका लागि संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका कर्मचारी तथा जनप्रतिनिधिहरूले आफ्नो सोच र व्यवहारमा सुधार ल्याउनु जरूरी रहेको बताए । जनताको सेवालाई सर्वोपरी राखी सोही अनुसारका योजना तथा कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने कार्यमा उनीहरूको दक्षता बढाउन प्रतिष्ठानले अझै सिपमूलक र नयाँ प्रविधिमा आधारित तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । प्रतिष्ठानले संघीयताको ज्ञान केन्द्रका रूपमा अध्ययन अनुसन्धान कार्यलाई थप विस्तार गरी सरकारलाई नीति निर्माणमा सहयोग पु¥याउनुपर्ने उनको भनाइ थियो ।

आफ्नै क्षमता विकास नभई प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रमहरूमा प्रभावकारिता ल्याउन नसकिने भन्दै उनले चालु रणनीतिक योजनाले परिलक्षित गरे अनुसार गुणस्तरीय सिकाइका अवसरहरू विस्तार गर्नका निमित्त सरोकारवालासँग सहकार्य प्रवर्द्धन गर्ने र प्रतिष्ठानको संस्थागत क्षमता विकास गर्ने कार्यमा मन्त्रालयले आवश्यक पहलकदमी लिने विश्वास व्यक्त गरेका छन् । सोही सन्दर्भमा काभ्रेको नमोबुद्धमा प्रस्तावित आवासीय प्रशिक्षण पूर्वाधार विस्तारका लागि यथाशीघ्र नेपाल सरकारबाट भोगाधिकार प्राप्त गर्नका मन्त्रालयले सक्रियतापूर्वक सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

मन्त्री गुप्ताले आफ्नो जिम्मेवारी अनुरूप उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कर्मचारीहरूलाई सम्मान पनि गरेका छन् । सम्मानपछि उनले भने, ‘प्रतिष्ठानलाई यस उचाइमा ल्याउन यसको स्थापना कालदेखि नै योगदान गर्नुहुने सम्पूर्ण पूर्वकर्मचारीहरूलाई पनि धन्यवाद दिन्छु ।’

adb bank long