मकवानपुर। शुक्रवारदेखि परेको अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएपछि शनिवार बिहान ड्यामका दुईवटा ढोका खोलिएको छ । ड्यामका ढोका खोलेसंगै आएको बाढीले इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ।
बाढीका कारण इन्द्रसरोवर गाउँपालिका-२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको सिस्नेरी प्रहरीले जनाएको छ। बाढी तथा डुबानका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ।
अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा-काठमाडौं सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली–काठमाडौं, कुलेखानी-फाखेल-काठमाडौं, कुलेखानी–मातातीर्थ-काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।
स्थानीय तह र सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए। साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबानलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको उनले बताए।