रविलाई भट्टराईको दनक : ‘दिउँसै रात पार्न पाइन्छ ? यति बुद्धु बनाउने हामीलाई ?’

रामेछाप । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले देश गम्भीर संकटको अवस्थामा पुगेको कारण एमालेले सरकारको नेतृत्व गर्ने गरी हस्तक्षेप गरेको बताएका छन् ।

बिहीबार नेकपा एमाले रामेछापको तेस्रो पूर्णबैठकलाई मन्थलीमा सम्बोधन गर्दै भट्टराईले कांग्रेससँग सहकार्य गरेर बनाएको वर्तमान सरकारका केही सीमा र अवसर रहेको बताएका छन् । ‘लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो भन्ने सन्देश लिएर हामी सरकारमा गएका छौँ, यो सन्देश गएको छ’, भट्टराईले भने ।

नयाँ सरकार बनेपछि व्यावसायिक क्षेत्रमा केही उत्साह बढेको भट्टराईले बताएका छन् । ‘यिनै सकारात्मक सङ्केतद्वारा बढ्दो निराशालाई चिरेर अघि बढ्नु पर्छ’, भट्टराईले भनेका छन् ।

संविधान निर्माण र संशोधन राजनीतिक शक्ति सन्तुलनको आधारमा बन्ने उनले बताएका छन् । शक्ति सन्तुलनमा परिवर्तन हुँदै जाँदा संविधानको संशोधन हुने उनले बताए । संविधानका आधारभूत विषयलाई असर नपर्ने गरी संविधान संशोधन हुने उनले स्पष्ट पारेका छन् । ‘हामी संविधानका आधारभूत पक्षलाई संशोधन गर्नेवाला छैनौँ, कुनै भ्रममा नपरे हुन्छ’, भट्टराईले भने ।

अहिले प्रचार गरिएजस्तो समावेशी चरित्रमा असर गर्ने गरी संविधान संशोधन नहुने उनले स्पष्ट पारेका छन् । ‘समावेशी चरित्र हाम्रो मुलुकको आवश्यकता हो, मौलिक अधिकार हामीले लडेर ल्याएको कुरा हो, हाम्रा विरुद्ध फैल्याएका अफवाहलाई चिर्ने दायित्व हाम्रो हो’, उनले भनेका छन्।

अहिलेको संविधानमा रहेको निर्वाचन प्रणालीबाट कुनै एक पार्टीको बहुमत आउने कुरा असम्भव प्राय रहेको बताउँदै उनले समावेशी चरित्रलाई नखलबल्याउने गरी संविधान संशोधनका विषय अघि बढाइने बताएका छन् । यो विषय पनि खुल्ला छलफलबाट टुङ्गोमा पुर्‍याइने विषय भएको उनले स्पष्ट पारेका छन् ।

उटपट्याङ कुरा गर्ने र त्यसको पछि जनमत दौड्ने कुरा निक्कै संवेदनशील भएको भट्टराईले बताए । भट्टराईले आफ्नो कम्पनीमा कति पैसा कहाँबाट आयो भन्ने कुरा थाहा छैन भनेर एउटा कम्पनीको प्रबन्ध निर्देशकले दिउँसै रात पार्ने कुरा गरेका बताएका छन् । ‘दिउँसै रात पार्न पाइन्छ ? यति बुद्धु बनाउने हामीलाई ?’ उनले प्रश्न गरेका छन् ।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई संसदीय समितिले कारबाहीको लागि सिफारिस गरिसकेकोले उनी माथि कारबाही हुने उनले स्पष्ट पारेका छन् । ‘कानुन अनुसार उसलाई कारबाही हुन्छ, त्यो प्रक्रिया अघि बढेको छ’, भट्टराईले भने ।

भट्टराईले अहिले विश्व परिस्थिति पनि निक्कै जटिल बन्दै गएको बताएका छन् । अन्तर्राष्ट्रिय परिस्थिति हिजोभन्दा आज अझ बिग्रँदै गएको भट्टराईले बताएका छन् । हिजो सहकार्य गरेका शक्तिहरू समेत आज युद्धमा रहेको भट्टराईले उदाहरण प्रस्तुत गरेका छन् । ‘विश्व अशान्ति तर्फ उन्मुख भइरहेको छ, द्वन्द्व तर्फ उन्मुख भएको छ’, भट्टराईले भने ।

नेपाल दुई उदयमान मुलुकका बिचमा रहेकोले नेपालको स्थिति निक्कै संवेदनशील रहेको भट्टराईले बताएका छन् । यसकै परिणाम आज नेपालमा सामाजिक अराजकता र अस्थिरता देखिन लागेको उनको विश्लेषण छ ।

एउटा व्यक्तिको मुर्ख्याइँको कारण युक्रेन युद्धमा होमिएको उनले बताएका छन् । नेपालमा पनि त्यस्तै अराजक र गैरजिम्मेवार मानिसलाई निर्वाचित गराउन सकिन्छ कि भनेर त्यस्ता शक्तिले विभिन्न खालका पात्रहरू खडा गर्ने काम भएको भट्टराईले बताएका छन् । मुलुकको स्वतन्त्रताको लागि र मुलुकको रक्षाका लागि एमालेलाई बलियो शक्ति बनाउनु पर्नेमा उनले जोड दिएका छन् । ‘आज नेपालका हरेक क्षेत्रमा आक्रमणको प्रयास भइरहेको छ, त्यसैले एमालेको पङ्ति सचेत हुन जरुरी छ’, भट्टराईले भने ।

नेकपा एमालेलाई २१ औँ शताब्दीको विश्वको प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउनु पर्नेमा उनले जोड दिएका छन् । नेपालको सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने जनताको बहुदलीय जनवाद सफल विचार हो भन्ने कुरा स्थापित भएको उनले बताएका छन् । त्यसैले कतिपय एमालेको विचारलाई छि छि र दुरदुर गर्नेहरू एमालेमा आएका र एमालेमा नआएका पनि एमालेले लिएकै विचारबाट अघि बढेका भट्टराईले स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल र समाचारको पछाडि दौडिएर पार्टी नबन्ने उनले बताएका छन् । विचार र नीतिमा स्पष्ट नभएकाहरूले आजको चुनौतीको सामना गर्न नसक्ने भट्टराईले बताए ।

adb bank long