अझै केहीदिन वर्षा लम्बिने, आज देशका अधिकांश स्थानमा वर्षाको संभावना

काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ।

जसको प्रभावले आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

यतिबेला मंगलबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली  छ। कोशी, बागमती र मधेस प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज मंगलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि बुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पुर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।

adb bank long