काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतवार पक्राउ परेपछि उनका समर्थकले झापामा गाडी जलाएका छन् भने पक्राउ विरुद्ध प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको सर्बोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।उनी आज बिरामी परेको भन्दै हस्पिटल भर्ना भएका छन् ।
उता प्रसाईँको गृहजिल्ला झापामा उनका समर्थकले झापाका छुट्टा-छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार आइतबार राति छुट्टा-छुट्टै स्थानमा तीन वटा ट्रकमा आगजनी भएको थियो । आगजनीमा संलग्नको खोजी भइरहेको उनले बताए ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कन्काइ नगरपालिका-८ स्थित बिरिङ खोलाको पुलमा यूपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका हुन् । यो घटना आइतबार राति भएको थियो ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ मा डब्लूबी-७३-ई-३०५७ नम्बरको खाली ट्रकमा आगजनी गरेका छन् । झापाको धाइजनमा डब्लूबी-७३-ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट तीनवटै ट्रकमा क्षति पुगेको छ ।
प्रसाईंका समर्थकले सोमबार झापामा चक्काजामको घोषणा गरेका थिए । तर, सवारी आवागमनको अवस्था सामान्य रहेको दाहालले बताए ।