राजनीति भनेको तरबारको धारमा हिँड्नु जस्तै हो : महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश परिवर्तनको नेतृत्व कम्युनिष्टहरुले मात्र गर्न सक्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा शनिवार दाङमा आयोजित वृहत् युवा भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलनलाई युवाले नै अघि बढाएका बताएका हुन् । हिजो कम्युनिष्ट पार्टीको जग नै युवाहरूले बसाएको पोखरेलको भनाइ छ । युवाहरू अल्लारे छन्, आलाकाँचा छन् भन्ने भ्रमलाई चिर्ने जिम्मेवारी युवाकै काँधमा भएको पनि उनले प्रष्ट पारे ।

राजनीतिमा कुन बाटो हिँड्ने भन्ने कुरा प्रमुख भएको पोखरेलले बताएका छन् । मौरीसँग हिँडे महमा पुगिने र झिँगासँग हिँडे रछ्यानमा पुगिने पोखरेलको भनाइ छ ।

पोखरेलले कांग्रेस यथास्थितिवादी र माओवादी ध्वंसवादी शक्ति भएको बताएका छन् । एमाले विकास र समृद्धिको बाटोबाट समाजवादतर्फ उन्मुख पार्टी भएको उनले बताएका छन् । त्यसैले कुन पार्टी रोज्ने भन्ने कुरा युवाले पहिचान गर्नुपर्नेमा उनले जोड दिए । ‘राजनीतिमा कुन सिद्धान्त सही हो भन्ने कुरा हामीले छुट्याउन सक्नु पर्दछ’, पोखरेलले भने।

अहिले पुराना पार्टी काम लाग्दैनन्, नयाँ पार्टी रोज्नु पर्दछ भन्ने प्रचार सुरु भएको भन्दै उनले यसैको परिणाम रवि लामिछाने र बालेन साहहरू जन्मिएको बताए। तर निश्चित नीति, सिद्धान्त र दृष्टिकोणले मात्र राजनीति चल्ने उनको भनाइ छ । म चर्चित भएँ भनेर कोही राजनीतिमा आउँदैमा त्यो लामो समय टिक्न नसक्ने पोखरेलले स्पष्ट पारे ।

लोकप्रियताको पछि दौडिँदा देश नै संकटमा पर्ने पोखरेलले बताएका छन् । ‘राजनीति भनेको तरबारको धारमा हिँड्नु जस्तै हो, तरबारको धारमा हिँड्ने यात्रा जस्तै हो राजनीति, चारैतिरको निगरानीमा हुन्छ’, उनले भने ।

रवि लामिछाने नेपाली समाजले खोजे जस्तो पात्र नभएका पोखरेलले बताएका छन् । एकभन्दा बढी विवाह गर्ने, एकभन्दा बढी पासपोर्ट बनाउने लामिछाने पछिल्लो समय त सहकारी नै डुबाउने कार्यमा संलग्न भएको पुष्टि भएको पोखरेलले स्पष्ट पारे ।

काठमाडौंका मेयर पनि त्यस्तै चर्चाका पात्र रहेको उनले बताए । जनतालाई प्रभावमा पार्ने क्षमता काठमाडौंका मेयरमा राम्रै भए पनि जनताको काम गर्ने क्षमतामा उनी असफल भएको प्रमाण पोखरेलले प्रस्तुत गरे । ‘कामका मामलामा उनी योग्य देखिएनन्, आफूले बनाएको बजेट सबैभन्दा कम खर्च गर्ने मेयरका रूपमा उनी स्थापित भए’, पोखरेलले भने ।

केपी ओली प्रधानमन्त्री भएका बेलाका कामका भिडियो हालेर बालेनले चर्चामा आउने प्रयत्न गरिरहेको उनले बताए । सरकारसँग टसल्ट गरेर चर्चामा आउने प्रयत्न गरिरहेका बालेन जनताको लागि काम गर्न योग्य जनप्रतिनिधि होइनन् भन्नु कुरा पुष्टि भइसकेको उनले प्रष्ट पारे ।

विदेश जाने युवालाई लक्षित गर्दै पोखरेलले नेपाली युवाले विदेशमा गएर गरेको सरह काम नेपालमा गर्ने हो भने त्यो भन्दा बढी रकम देशमा नै कमाउने दाबी गरे । नेपालीले त्यसरी काम गर्ने हो भने कामको लागि विदेश जानु नपर्ने पनि उको धारणा छ ।

adb bank long