काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदहरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जसको प्रभावले यतिबेला शनिबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
त्यस्तै आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज दिउँसो भारी वर्षाको पनि सम्भावना छ।
त्यसैगरी आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।