काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी छानबिन समिति गठन गर्न दबाब दिएकोमा पार्टीका महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताउदै देउवाले थापालाई धन्यवाद दिएका हुन् ।
बुधवार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा धन्यवाद दिएका हुन् ।
सभापति देउवाले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरू सही भएको बताए। उनले भने, ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।’