काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधान जारी भएको १० वर्ष हुन लागेकोले पुनरावलोकनको लागि छलफल गर्ने बेला भएको बताएका छन् ।
नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले १० बर्ष धेरै लामो अवधि नभए पनि यस बिचमा धेरै महत्पूर्ण यात्राहरू तय भएको बताएका छन् । अहिले सरसर्ती हेर्दा संविधान जारी गर्दाको जस्तो उत्साह नदेखिएको उनको भनाइ छ ।
संविधानको आधारभूत जगका बारे पनि असहमति राख्नेहरूको स्वर पनि सुनिन लागेको उनले बताएका छन् । संविधानको अपनत्व जगाउनको लागि त्यसको कार्यान्वयनको पाटोको समेत समीक्षा गरेर अघि बढ्ने बेला भएको उनले स्पष्ट पारेका छन् । ‘संविधानका केही केही व्यवस्थामा हरेक १०/१० वर्षमा पुनरावलोकनको व्यवस्था संविधानले नै गरेको छ’, उनले भने ।
अहिले उठिरहेका प्रश्नहरू संविधानका कारणले, त्यसको कार्यान्वयनमा देखिएको कमजोरीका कारणले वा पात्र र प्रवृत्तिका कारण हुने भन्ने विषयमा पनि समीक्षा गर्नुपर्नेमा ज्ञवालीले जोड दिए।
लैङ्गिक समावेशिताका दृष्टिले नेपाल निक्कै राम्रो अवस्थामा रहेको उनले बताए ।
तर जसले पाउनु पर्ने त्यो अधिकार उनीहरूले नपाएर नेताहरूको तजबिजमा भर पर्यो भन्ने गुनासो पनि त्यतिकै आएको ज्ञवालीले बताएका छन् ।