बिज्ञान र प्रबिधिको अनुसन्धानका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष

काठमान्डौ । नेपाल सरकार  शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयको आयोजनामा १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले  वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले  युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रबर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत  सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताएकी छन् ।

उनले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने बताएकी हुन् ।

उनले विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको  चर्चा गर्दै वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गरिन् ।
अब विश्वविद्यालय एवं निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया-निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध गर्दै  मन्त्रीले भट्टराईले  उदीयमान प्रविधिका रूपमा विकास भइरहेका Satellite,  Information Communication, Robotics,  Artificial Intelligence,  एवं Nuclear Technology जस्ता प्रविधिको समेत उपयोग गरी देशको सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा गुणात्मक वृद्धि गर्ने दिशामा  केन्द्रित रहनुपर्ने बताएकी छन् ।

कार्यक्रममा युवा उद्यमी डा. प्रतिभा पाण्डे, शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनीले पनि आफ्नो भनाई राखेका छन् । समारोहमा विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका विभिन्न क्षेत्रका व्याक्तिलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन  रोबोटिक प्रविधियुक्त इलेक्ट्रोनिक एपबाट पानसमा दियो बालेर गरिएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपतिहरू, विभिन्न मन्त्रालय र आयोगका सचिव तथा अन्य कर्मचारीहरू,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति, सचिव तथा अन्य कर्मचारीहरू, प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, युवा वैज्ञानिक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता थियो ।

यस वर्षको विज्ञान दिवसको  आदर्श वाक्य “विज्ञान तथा प्रविधिः  विकास र उत्पादन वृद्धि”  रहेको छ। विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न नेपाल सरकारले वि.सं. २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।

adb bank long