माओवादी आन्दोलन मात्र हो, पार्टी नै होइन, पार्टी बनेकै छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनी नसकेको बताएका छन् ।

प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरूको प्रेस चौतारी नेपालमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएको बताएका हुन् ।

‘माओवादी आन्दोलन मात्र हो, पार्टी नै होइन, पार्टी बनेकै छैन’, उनले भने। पोखरेलले नेकपा एमाले नेपालको सन्दर्भमा मात्र नभएर एसियाकै सन्दर्भमा सुदृढ पार्टी भएको उनले दाबी गरे । परिणामका हिसाबले कहिले सफलता कहिले असफलता एउटा पक्ष भए पनि पार्टीका हिसाबले एमालेको जत्तिको सामर्थ्य राख्ने पार्टी बिरलै भएको पोखरेलले बताएका छन् । त्यसैले नेकपा एमालेलाई कमजोर पार्ने प्रयत्न बारम्बार हुने गरेको उनले सुनाए।

उत्साहका साथ नेकपा बनाइएको भए पनि पुष्पकमल दाहाल एकताको लागि नआएको कारण नेकपा फुटेको पोखरेलले बताएका छन् । प्रचण्ड प्रयोगका लागि मात्र आएको कारण त्यस्तो स्थिति बनेको पोखरेलका निष्कर्ष छ । प्रचण्डको सहकार्य गर्ने अनिच्छाका कारणले नेकपा फुटेको उनले बताएका छन् । ‘प्रचण्ड सहकार्य गर्ने मान्छे होइन, आदेश दिने मान्छे हो, आदेशले मात्र राजनीति चल्दैन, विधि, पद्धति, योजना र सामूहिकताको आवश्यकता पर्दछ’, उनले भने।

शक्ति केन्द्रले साथ दिएको कारण प्रचण्डको राजनीति सफल भएको पोखरेलको विश्लेषण छ । ‘उनीहरूको साथ नभएको भए उनको अवस्था हेर्न लायकको हुन्थ्यो’, उनले भने ।

पोखरेलले अबको राजनीति प्रचण्डको पक्षमा नरहेको दाबी गरेका छन् । २०८४ सालको निर्वाचनमा माओवादी राष्ट्रिय दलसम्म बन्न सक्ने भए पनि त्यस पछि राष्ट्रिय मान्यता प्राप्त दल पनि नबन्ने उनको ठम्याई छ । यो माओवादी प्रतिको अपमान नभई सम्मान नै गरेको उनले बताए । ‘औचित्य सकिएको पार्टी राष्ट्रिय पार्टी हुन्छ भन्नु उसको विगतको भूमिकाको सम्मानै गरेको हो भन्ने बुझ्नु पर्दछ, भविष्यको आँखाबाट हेर्ने हो भने अब माओवादी भई रहनुको औचित्य छैन’, उनले भने ।

अब वामपन्थी जनमतलाई एमाले वरिपरि र बुर्जुवा जनमत कांग्रेसको वरिपरि केन्द्रीकृत हुने पोखरेलले बताएका छन्। नेपालको राजनीति अब दुई ध्रुवमा ध्रुवीकृत हुने पोखरेलले दाबी गरेका छन् ।

साना राजनीतिक पार्टीका कारण देशमा अस्थिरता बढेकोले देशका ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएको पोखरेलले बताएका छन् । यसको सबैभन्दा बढी छटपटी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई भएको पनि पोखरेलले बताए ।

adb bank long