प्रेस सेन्टर महोत्तरीका २ दर्जन पत्रकार प्रेस चौतारीमा प्रवेश

काठमाडौ । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल महोत्तरीका अधिकांश नेता प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय सदस्य सुनिता कुमारी र जिल्ला अध्यक्ष धनबीर महतोसहित जिल्लामा रहेका सेन्टरका सवै नेताहरु नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् ।

प्रेस सेन्टरबाट प्रेस चौतारीमा समाहित हुनेमा नेपाल पत्रकार महासंघ महोत्तरी सचिव राजकरण महतो र प्रेस सेन्टर मधेस प्रदेशका सचिव एवं महासंघ महोत्तरी सहसचिव रामनारायण महतोसहित दुई दर्जन पत्रकार रहेका छन् ।

उनीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले खादा लगाएर संगठनमा स्वागत गरेका छन् । सो अवसरमा स्थायी कमिटी सदस्य एवं प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र नेकपा एमाले मधेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठसमेत उपस्थित रहनुभएको थियो । माओवादी निकट प्रेस सेन्टर त्यागेर प्रेस चौतारी प्रवेशहरुमा महोत्तरी र धनुषाका चर्चित पत्रकार रहेका छन् ।

प्रेस चौतारी प्रवेश गरेपछि सवै नेताहरुले महोत्तरी, धनुषासहित अव मधेश प्रदेशमा प्रेस सेन्टरमा रहेका सवै सक्रिय पत्रकारलाई संगठनमा आवद्ध गराउने बताएका छन् । ‘माओवादी नेताहरुले पत्रकारलाई दासको जस्तो ब्यवहार गर्ने र स्वाभिमानमाथि खेलवाड गर्ने गरेको कारण प्रेस सेन्टरका मधेशमा रहेका सवै इमान्दार पत्रकार प्रेस चौतारी र नेकपा एमालेमा आवद्ध हुन चाहिरहेका छन् । हामी अव सवैलाई संगठित गर्दै अघि बढछौं,’ प्रेस चौतारी प्रवेश गरेपछि उनीहरुले भने ।

कार्यक्रममा एमाले महासचिव पोखरेलले सही बेला सही संगठन र पार्टी रोजेको भन्दै अव नेकपा एमालेको बिकल्प नरहेको तथा माओवादीको भविष्य नरहेको बताए । एमाले मधेश प्रदेशका इञ्चार्ज लीलानाथ श्रेष्ठले पार्टीकोतर्फबाट उचित संरक्षण र सहयोग हुने भन्दै निर्धक्क भएर पत्रकारिता गर्न तथा प्रेस चौतारीलाई मधेशमा सवै एक हुँदा पनि पराजीत गर्न नसक्ने अवस्था बनाउन सुझाव दिए ।

यस्तै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले श्रमजीविसहित बाम, प्रगतिशील र देशभक्त पत्रकारहरुको साझा घर प्रेस चौतारी नै रहेको तथ्य राख्दै सही समयमा सही निर्णय गरेको बताएका छन् । बस्नेतले नवप्रवेसीलाई उचित जिम्मेवारी दिइने जानकारी पनि गराएका छन् ।

adb bank long