आज मोहम्मदको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा

काठमाडौ । आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती । यही अवसरमा नेपाल सरकारले इस्लाम धर्माबलम्बीहरूलाई सार्वजनिक विदा दिएको छ भने मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको बताएको छ ।

इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएका छन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको इस्लाम धर्माबलम्बीले बताउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा मोहम्मदका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।

गृह मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

उता मधेश प्रदेशले भने आज सार्वजनिक विदा दिएको छ ।

adb bank long