बदलिएको विश्व सन्दर्भमा, एसिया विकासको सम्भावना बारेमा अब हामीले विमर्श गर्नुपर्ने बेला भएको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परापूर्व कालदेखि नेपालको धार्मिक, व्यापारिक र राजनीतिक सम्बन्ध उत्तरी मुलुक चीनसँग पनि रहेको बताएका छन् ।

आइतबार पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले शर्माका पुस्तकले पनि सो कुरालाई उजागर गरेको बताएका हुन् । नेपालको सम्बन्ध भारतसँग मात्र नभएर चीनसँग पनि त्यतिकै रहेको पोखरेलले स्पष्ट पारेका छन् ।

चीनको तिब्बतसँग र नेपालको तिब्बतसँगको सम्बन्ध उस्तै उस्तै भएको पोखरेलले बताए । नेपालको भोटसँगको नाता त्यति गहिरो छ भन्ने कुरा तथ्यले पुष्टि गरेको पोखरेलको भनाइ छ ।

एसिया कुनै समय विश्व सभ्यताको केन्द्र रहेको पोखरेलले बताएका छन् । कृषि मानव समाजको मुख्य पेसा हुँदासम्म ज्ञान, धर्म र सभ्यताको केन्द्र एसिया नै रहेको पोखरेलले बताए । औद्योगिक क्रान्ति पछाडि युरोप अगाडि बढेको उनको भनाई छ ।

दुईवटा ठुला विश्वयुद्ध पछि अमेरिका युरोपलाई उछिनेर समृद्धिमा अघि बढेको पोखरेलले बताउनुभयो । विश्व युद्ध र तेलको व्यापारले अमेरिका अघि बढेको पोखरेलको भनाइ छ ।

अब ग्रिन इनर्जीको युग आएकोले एसिया फेरी अघि बढ्ने आधार तयार भएको पोखरेलको धारणा छ । अब एसियाको विकासको सम्भावनाको बारेमा विमर्श गर्नुपर्ने बेला भएको पोखरेलले बताए ।

‘बदलिएको विश्व सन्दर्भमा, एसियाको विकासको सम्भावना बारेमा अब हामीले विमर्श गर्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्दछ, नयाँ विश्व व्यवस्थाका सर्जकको रूपमा हाम्रा दुई छिमेकीहरू अगाडि आउन खोजिरहेका छन्, चीन र भारत । चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ’, उनले भने ।

नेपालले पश्चिमको आँखाबाट नभई एसियाको आँखाबाट समृद्धिको सपना देख्न थाल्नुपर्ने पोखरेलले बताएका छन् । ‘हामीले पश्चिमको आँखाबाट होइन एसियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्न थाल्नुपर्दछ, योजना बनाउन थाल्नुपर्दछ’, उनले भने ।

एसियालाई भविष्यको मानव सभ्यताको विकास गर्ने क्षेत्रको आधार क्षेत्र बनाउन सकिने उनले बताएका छन् । अब त्यो दृष्टिकोणबाट अघि बढ्नु पर्नेमा पोखरेलले जोड दिए ।

adb bank long